पृष्ठभूमि :

युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । यो मानव संसाधन विकासको प्रमुख साधन हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र  साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ । हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । तथापि हालका केही वर्षमा युवा विकास¸ उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा आशालाग्दा संकेतहरु देखा पर्न थालेका छन् । यो हामी सबैका लागि गर्वको विषय हो ।

युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ । यो कूल जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशील समूह हो । संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ । संयुक्त राष्ट्रसंघ र विश्व बैँक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । पछिल्लो पटक संयुक्त राष्ट्रसंघले समेत UNSCR 2250  का सन्दर्भमा युवाको उमेर समूहलाई १५-२९ को रुपमा आत्मसात गरेको सन्दर्भ पनि छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हुन आउँछ । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझ एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा युथ भिजन २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।

नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको थियो । मन्त्रालय गठनसँगै राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकुद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरूले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रमहरु कार्यान्वयन गर्दै आएका छन्। युवा विकास र परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालयसंग समन्वय गरी युथ भिजन २०२५ को मर्म र भावना अनुसार युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी भई सो अनुसार राष्ट्रिय युवा परिषद् स्थापना (गठन) भैसकेको छ । परिषद्को औपचारिक गठन पश्चात यसले सांगठानिक संरचना अनुसार कार्यालय र कर्मचारी व्यवस्थापन गरी आफ्नो कार्यारम्भ गरिसकेको छ । राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ । तिनै विषयहरुलाई प्राथमिकता निर्धारण गरी कार्यान्वयनका लागि युवा विकासको स्पष्ट दृष्टिकोण, रणनीतिक कार्ययोजना र कार्यक्रम तय गर्नु अति आवश्यक छ । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरू, युवा विकाससँग सम्बन्धित संघसंस्थाहरू र अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई युवा विकासको लक्ष्यमा समन्वयात्मक रूपमा परिचालन गरी राष्ट्रिय युवा परिषदमार्फत राष्ट्रिय युवा नीति, २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न युथ भिजन २०२५ सहितको दश वर्षे रणनीतिक योजना निर्माण भई सोको कार्यान्वयनको प्रक्रिया पनि शुरु भएको छ । अन्तर्राष्ट्रिय स्तरमै युवा क्षेत्रमा भएका प्रगति र नेपालको अवस्थालाई मध्यनजर गरी युथ भिजन २०२५ ले अहिलेको युवा विकासका मूल समस्यालाई लक्षित गरी युवा विकासका पाँच रणनीतिक आधारस्तम्भ तय गरेको छ । नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पुर्याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ । यो युवा विकासको लागि गरिनु पर्ने आधारभूत कार्य हो । युवा उद्यमशीलता, सिप विकास र रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । कृषि, पर्यटन, उर्जा, पूर्वाधार र जडिबुटी नेपालका लगानी र रोजगारीका महत्वपूर्ण क्षेत्र हुन्। त्यसैगरी सबल र स्वस्थ युवा निर्माणका लागि सन् २०२५ सम्म गर्नुपर्ने अर्को महत्वपूर्ण काम युवाका लागि स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता हो । युवालाई कस्तो प्रणालीबाट हामी स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।

युवा परिचालन, सहभागिता र नेतृत्व विकासविना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । युवा राष्ट्रिय अभियानहरू र देश निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र स्वयम् सेवकीय भूमिका मार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ । युवा स्वावलम्बन, सशक्तीकरण, सहकार्य, पहलकदमीमार्फत राष्ट्र निर्माणका निमित्त युवा नेतृत्वलाई विकास र स्थापित गर्दै जानुपर्दछ । खेलकुद र मनोरञ्जनलाई युवाको मानसिक र शारिरीक स्वास्थ्यका साथै व्यक्तित्व विकाससँग समेत जोड्नुपर्दछ । खेलकुदको विकासले युवामा राष्ट्रिय भावना र एक्यवद्धता कायम गर्न मद्दत गर्दछ । यसका लागि मनोरञ्जन केन्द्र, व्यायाम केन्द्र, पार्कहरू, रंगशाला, कभर्डहल, खेल मैदानहरू, सांस्कृतिक कलाकेन्द्र स्थापना गर्न राज्यको लगानी आवश्यक हुन्छ । खेलकुदलाई व्यापकता दिन विद्यालय स्तरदेखि नै योजनाबद्ध विकास गरी सबै युवाको पहुँच सुनिश्चित गरिनु आवश्यक छ । यी आधारस्तम्भहरुलाई प्रभावकारी ढङ्गले लागू गर्न राष्ट्रिय युवा परिषद् प्रतिवद्ध र प्रयासरत छ ।

नेपालमा युवाको वर्तमान अवस्था :

हाल  नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) रहेको छ । युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको¸ १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार रहेको¸ कृषिमा युवाहरुको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवाहरु स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ । आज बेरोजगारीको कारण युवाहरु प्रतिवर्ष ५¸३८¸००० रोजगारीका लागि विदेशिने गरेका र यी मध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्द दक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेका छन् । भर्खरै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट जारी तथ्याङ्क बमोजिम विदेशिने युवाको संख्यामा केही कमि आएको र यो संख्या वार्षिक 3 लाख 23 हजार मात्र रहेको देखिएको छ । युवा विकास उद्यमशिलता र स्वरोजगारका लागि सरकारी गैरसरकारी तथा निजी स्तरबाट भए गरेका प्रयासका कारण यो विदेशिने युवाको संख्यामा कमि आएको हो भन्ने बुझाइ रहेको छ ।  वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा काम गरी कमाएको रकम रेमिटेन्सको रुपमा नेपाल भित्रिने गर्दछ जसको राष्ट्रिय  अर्थतन्त्रमा २९ प्रतिशत योगदान रहेको छ । त्यस्तै सीप र प्रविधिको अभावमा अफगानिस्तान¸ इजरायल¸ मलेशिया तथा खाडीका मुलुकहरुमा काम गर्न जाने युवाहरु अधिकाँश अदक्ष श्रमिकको रुपमा रहेकोले जोखिमपूर्ण काम गर्न परिरहेको र यसैकारण उनीहरुको जीवन थप जोखिमपूर्ण बनिरहेको  तीतो सत्य आजको यथार्थता हो । यस बारेमा सम्वद्ध पक्षको गम्भिर ध्यान जानु जरुरी देखिन्छ ।

 नेपालका युवाको चाहना र आवश्यकता अनुसार वि.सं. २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको हो । युवा विकाससँग सम्बन्धित गतिविधि सोही मन्त्रालय अन्तर्गत हुँदै आएकोमा युवा नीति, २०६६ (परिमार्जित संस्करण2072) र राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले युवाको हक हितको संरक्षण र सम्वर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्नका लागि राष्ट्रिय युवा परिषद्को स्थापनाको बाटो खोलेको थियो । युवा परिषद्को गठनसँगै युवाको सर्वाङ्गीण विकासका कार्यक्रमहरू हाल यसै संस्थाबाट सञ्चालन हुन थालेका छन् ।

राष्ट्रिय युवा परिषद्लाई मार्गनिर्देशन गर्ने दस्तावेजका रुपमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२¸ राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ रहेका छन् । परिषद्ले विशेष गरी राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ एवं युवा विकासका लागि दीर्घकालीन रणनीतिक योजनाको भावना र मर्म बमोजिम आफ्ना भूमिकाहरुलाई अगाडी बढाइरहेको छ । यसका लागि युवा विकासका आधारशिलाको रुपमा रहेका क्षेत्रहरुलाई पहिचान गरी पाँच वटा आधार स्तम्भहरु (Five pillars) निर्माण गरिएका छन् जुन क्षेत्रहरु युवाको चौतर्फि विकास र देशको समृद्धिसँग पनि जोडिएका छन् । यसमा गुणस्तरीय र व्यवसायिक शिक्षा¸ रोजगारी उद्यमशीलता र सीप विकास¸ स्वास्थ्य र सामाजिक सुरक्षा¸ युवा परिचालन सहभागिता र नेतृत्व विकास र खेलकुद र मनोरञ्जन रहेका छन् ।

युवाको हक हितको संरक्षण र सम्वर्द्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवासम्बन्धी नीति निर्माण र कार्यान्वयन तहसम्म युवालाई सहभागी गराई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराउने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ३ बमोजिम राष्ट्रिय युवा परिषद्को गठन गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७२ फागुन १९ को निर्णयअनुसार श्री माधवप्रसाद ढुङ्गेललाई सोही ऐनको दफा ५ (ख) बमोजिम परिषद्को कार्यकारी उपाध्यक्षकारूपमा नियुक्त गरेपछि यसले विधिवतरुपमा आफ्नो कार्य अगाडि बढाएको हो । हाल राष्ट्रिय युवा परिषद्लाई नियमानुसार पूर्णता दिइसकिएको छ । युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा विभिन्न मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका गरी आठ जना सचिव पदेन सदस्यसहित ३६ सदस्यीय राष्ट्रिय युवा परिषद्ले पूर्णता पाएको छ । यसैगरी ७५ वटै जिल्लामा युवा समितिका अध्यक्षको मनोनयन भै ७५ जिल्लामा समितिको कार्यालय समेत स्थापना भइरहेका छन् । बाँकी जिल्ला युवा समितिले पनि पूर्णता पाउने क्रममा रहेका छन् । त्यसै गरी, नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार ७५ ओटै जिल्लामा जिल्ला युवा कार्यालयको प्रमुखको रुपमा शिक्षा सेवाका उपसचिव तथा शाखा अधिकृतहरुलाई खटाइसकिएको छ । हाल संघीय नेपालको संविधान 2072 को कार्यान्वयनको सिलसिलामा साविक जिल्ला युवा समितिको भूमिकाका सम्बन्धमा केही अन्यौलता देखापरिरहेको अवस्था छ । संघीयता कार्यान्वयनको साथसाथै परिषदको केन्द्र¸ प्रदेश र स्थानीय संरचनाहरु नयाँ ढंगबाट व्यवस्थित हुने क्रम जारी रहेको छ ।

दूरदृष्टि (Vision)

नेपाली युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने ।

दीर्घकालीन लक्ष्य (Mission)

  • युवाको नेतृत्व तथा क्षमता विकास
  • उद्यमशिलताको विकास र स्वरोजगार
  • युवाको पहुँच र सहभागिताको सुनिश्चितता
  • समृद्ध राष्ट्र निर्माण

मान्यता (Value)

  • स्वस्थ¸कर्मठ र उद्यमी युवा
  • अधिकार र कर्तव्य प्रति सचेत युवा
  • समावेशी र सशक्त युवा
  • नेतृत्वदायी र स्वाबलम्बी युवा

उद्देश्य (Objectives)

(क) राष्ट्र निर्माण एवम् राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने,

(ख) युवावर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने,

(ग) श्रमको सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारिरीक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुंसस्कृत, सिर्जनशील तथा व्यवसायिकरुपमा दक्ष युवा तयार गर्ने,

(घ) युवाका आधारभूत अधिकारहरु सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा उनीहरुको पहुँच बढाएर राष्ट्रका राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवम् कार्यान्वयनमा सहभागी गराउनुका साथै लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताका माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रुपमा स्थापित गर्ने,

(ङ) प्राथमिकता तथा विशेष प्राथमिकताको समुहका युवालाई सकारात्मक विभेदका माध्यमबाट सशक्त गरी विकासको मूल प्रवाहमा ल्याउने ।

परिषदको स्वरुप र प्रकृति :

राष्ट्रिय युवा परिषद ऐन २०७२ को प्रस्तावनामा भनिएको छ कि¸युवाको हक हितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी विषयको नीति निर्माण देखि कार्यान्वयन तहसम्म आवश्यकता अनुसार उनीहरुलाई संलग्न गराई राष्ट्रिय विकासको मूलप्रवाहमा समावेश गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,  नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ ।  राष्ट्रिय युवा परिषद ऐन, २०७२ अनुसार यो एउटा स्वायत्त संस्था हो ।

उक्त ऐनको दफा ४ मा भनिएको छ :

 परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुने,  परिषद्को सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुने,  परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच विखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्ने, तर परिषद्ले अचल सम्पत्ति बेच विखन गर्नु अघि नेपाल सरकारको स्वीकृति अनिवार्य रुपमा लिनु पर्ने,  परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न सक्ने र परिषद् उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्ने, परिषद्ले व्यक्ति सरह करार गर्न, करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्ने ।  

परिषदको सर्वोच्च अङ्गको रुपमा ३6 सदस्यीय राष्ट्रिय युवा परिषद् रहेको छ । यसले युवाका हक हितको संरक्षण र सम्बर्द्धन गर्ने समेतका काम गर्दछ । परिषद् अन्तर्गत परिषद्का उपाध्यक्षको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति रहेको छ । यसले परिषद्को कार्यकारी निकायको रुपमा काम गर्दछ । प्रशासनिक कार्यका लागि केन्द्रमा एक जना सहसचिवको नेतृत्वमा निजामति सेवाको कर्मचारीहरु रहेका छन् । त्यसैगरी हरेक जिल्लामा नौ सदस्यीय जिल्ला युवा समिति रहने व्यवस्था छ । जिल्ला युवा समितिका कार्यालयहरुले जिल्लाभित्रका युवा सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्ने काम गर्दछन् ।