EN NE

प्रशासकीय प्रमुखको सन्देश

...

राष्ट्रिय युवा परिषद् युवाको क्षेत्रमा काम गर्ने एक मात्र आधिकारिक सरकारी संस्था हो । नेपालको कानूनले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानेको छ । तथ्याङ्कले नेपालमा युवाको जनसङ्ख्या चालिस प्रतिशत रहेको देखाएको छ । यो जनसाङ्खिक दृष्टिले ठूलो लाभको अवस्था हो । युवाहरु आफ्नो परिवार,  बालबालिका र जेष्ठसदस्यको लागि मात्र नभएर मुलुक र समाजका लागि पनि आधार स्तम्भ हुन् । युवा शक्तिलाई उत्पादनशील कार्यमा लगाउन सक्ने तथा युवाको क्षमतालाई सही प्रयोग गर्ने देश नै विकासमा फड्को मार्न सफल भएका छन् । देशमा युवाको संख्या धेरै भएको अवस्थाको सदुपयोग गर्न सकिएन भने त्यसले सकारात्मक परिणाम दिन सक्दैन ।

नेपालको संविधान, नीति, ऐन, नियममा युवा सम्वन्धी व्यवस्थामा कमी छैन । युथ भिजन २०२५ तथा १० बर्षे रणनीतिक योजना तथा राष्ट्रिय युवा नीति २०६७ ले युवाको सशक्तीकरण एवम मूलप्रवाहीकरणमा जोड दिएको छ । त्यसैगरी गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी उद्यमशीलता र सीपविकास, स्वास्थ्य र सामाजिक सुरक्षा युवा परिचालन, सहभागिता र नेतृत्व विकास खेलकुद र मनोरञ्जन जस्ता आधार स्तम्भहरु तय गरेको छ । युवा सम्वन्धमा कानूनी व्यवस्था गर्न राष्ट्रिय युवा परिषद् ऐन ,२०७२ र राष्ट्रिय युवा परिषद् नियमावली २०७३ कार्यन्वयनमा छन् । यदी हुदा हुदै पनि भाषिक र बौद्धिक क्षमता विकास गरेका युवाहरु अमेरिका, युरोप र अस्ट्रेलियातर्फ पलायन हुदै छन् भने अंग्रेजी भाषिक सिप कमजोर भएका, शैक्षिक पृष्ठभूमि दरिलो बनाउन नसकेका तर शारीरिक रुपमा उर्जाशील युवाहरु भारत, कुवेत, साउदी अरव, मलेसिया, कोरिया जस्ता देशहरुमा कम पारिश्रमिकमा जोखिमपूर्ण कार्यमा श्रम बेच्न बाध्य भएका छन् । बास्तविकरुपमा भन्ने हो भने नेपालको जनसङ्ख्याको लाभांश अन्य देशले उठाइ रहेका छन् । सुगम देखि विकटसम्मका गाउँ टोलहरु युवा विहीन भैरहेका छन् । तागत लगाउनु पर्ने कार्यहरु समेत शारीरिक रुपमा कमजोर तथा शरीर जीर्ण भइसकेका बृद्धबृद्धाले गर्न बाध्य भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन र नियम अनुसार गठन भएको राष्ट्रिय युवा परिषद्ले गर्दै आएका सहुलियतपूर्ण कर्जाको सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम, एक शिक्षणसंस्था एक उद्यम कार्यक्रम,  युवाका लागि विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम,  विज्ञान तथा प्रविधिमा युवा सम्मेलन, युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम, संघसंस्थाहरू तथा अन्य निकायसँगको साझेदारीमा युवा लक्षित कार्यक्रम,  युवा सञ्जाल गठन तथा परिचालन,  युवा नीति तथा युवाका मुद्दाहरुमा वहस पैरवी गोष्ठी,  युवा परामर्श युवा अनुभव आदान प्रदान, घुम्तीकोषमा आधारित युवा उद्यम कार्यक्रम, युवा सम्बन्धी आवधिक वुलेटिन तथा वार्षिक प्रकाशन, युवा विकासका लागि सञ्चार माध्यमसँगको समन्वय र सहकार्य, युवा नवप्रवर्तन तथा इन्क्युवेसन सेन्टर सञ्चालन तथा नमुना विकास, युवाक्लव गठन तथा नमुना युवा संसद अभ्यास, संघीय नमुना युवा संसद अभ्यास, युवा स्वयमसेवक विकास तथा परिचालन, अपाङ्गता भएका युवाहरुका लागि सहयोग लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमहरुलाई अपेक्षा अनुसार उपलब्धिपूर्ण बनाउन र समग्र नेपाली युवालाई शसक्तीकरणको लागि सिर्जनात्मक नवीन कार्यमा लगाउन, क्षमतालाई उजागर गर्न उद्यमशील र रोजगारीपूर्ण कार्यमा लगाउन सफलता प्राप्त हुन सकेको छैन । अत: सबै युवाहरुलाई देशमानै बसेर आफ्ना प्रतिभाहरु देखाउन. सिर्जनात्मक कार्यमा लाग्न सक्ने अवस्था निर्माण गर्न कार्यप्रक्रियामा रहेको कमजोरी हटाउन, समग्र सामाजिक सोचमा परिवर्तन गर्न आवश्यक छ । साथै युवालाई नेपालमा नै आफ्नो भविष्य प्रति आशावादी बनाउन, आफ्नै स्थानमा उद्यमशील बन्न, सम्मानित तरिकाले श्रम गर्न, ज्ञान, सिप र क्षमताको प्रयोग गर्न सक्ने बनाउन युवा सम्बन्धमा अध्ययन अनुसन्धान हुनु पर्ने, देखिएका कमीकमजोरीहरु हटाउनु पर्ने र भएका नीति, ऐन, नियम र कार्यक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न  राष्ट्रिय युवा परिषद्को एक्लो प्रयासले मात्र सम्भव छैन यसकोलागि तीनै तहका सरकार, सरकारी तथा गैरसरकारी संघ सस्थाहरु  मिलेर लाग्नु पर्ने आजको आवश्यकता हो ।
"Dinesh Ghimire"