नेपाली युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने दूरदृष्टि सहित सरकारी निकायका रूपमा राष्ट्रिय युवा परिषद्को स्थापना भएको हो । विक्रम सम्वत २०७२ साल साउन २७ गते युवा परिषद ऐन, २०७२ जारी भएपछि सोही वर्षको फागुन १९ गतेदेखि राष्ट्रिय युवा परिषद्को स्थापना भई क्रियाशील रुपमा काम गरिरहेको छ। युवा तथा खेलकुद क्षेत्रको विकासमा नेतृत्व लिने गरी वि सं २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको थियो। हाल युवा, श्रम तथा रोजगार मन्त्रालयको समन्वयमा परिषद्ले युवा लक्षित गतिविधिहरूलाई अगाडि बढाउँदै आइरहेको छ।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई "युवा" भनि परिभाषित गरेको छ भने राष्ट्रिय युवा नीति, २०८२ अनुसार युवाको उमेर समुह परिमार्जन भई १६ देखि ३५ वर्ष रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यो उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको छ। युवाहरू देश विकासका स्रोत र ऊर्जा हुन् । युवा शक्ति नै हरेक देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक मानिन्छ। यो जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ। उनीहरूको हिम्मत, लगनशीलता र स्वावलम्बी तथा सिर्जनात्मक सोच एवम् मुलुकप्रतिको इमान्दारिताले सामाजिक विकासमा गहिरो प्रभाव पारेको हुन्छ । युवा वर्गको क्रियाशीलताबाट नै राष्ट्र निर्माणका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव छ । तसर्थ युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्छ । मुलुकको यही आवश्यकता पूरा गर्न राष्ट्रिय युवा परिषदको स्थापना भएको छ ।

गुणस्तरीय, समय सापेक्ष र रोजगारमूलक शिक्षाको कमी, व्यावसायिक सिप र प्रविधिको पहुँचमा कमी, अर्ध बेरोजगारी तथा गन्तव्य विहीनता, राजनीतिक अस्थिरता, युवाशक्ति पलायन, युवाको कमजोर स्वास्थ्य तथा पोषण एवम् मनोबल, युवामैत्री लगानी तथा उद्यमशील वातावरणको अभाव, लैङ्गिक तथा क्षेत्रीय एवम् जातीय विभेद र बहिष्करणका अतिरिक्त विश्वव्यापीकरण तथा उदारीकरणको प्रभावले ल्याएका चुनौतीहरू जस्ता नेपाली युवाका वर्तमान समस्या तथा चुनौतीहरू पर्गेल्दै सक्षम, शिक्षित, सभ्य र अनुशासित युवा विकास र परिचालनमार्फत समृद्ध नेपाल र निर्माणका दिशामा अघि बढ्न राष्ट्रिय युवा परिषद अघि बढिरहेको छ। तसर्थ, मुलुकको संघीय संरचना अनुसार तीनै तहका सरकार र सरकारी तथा गैर-सरकारी निकायहरू, उद्यमी, व्यवसायी, सामाजिक अभियन्ता एबम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग हातेमालो गर्दै निर्धारित उद्देश्य परिपूर्तिका लागि अघि बढ्न राष्ट्रिय युवा परिषद कृत सङ्कल्पित छ ।

"मनिता श्रेष्ठ"

(सहसचिव)